
Advertisement 1
- धनन्जय उपाध्याय/मर्चवार
कोटामाई गाउँपालिका वडा नं ७ अन्तर्गत पर्ने परसाहवा क्षेत्रमा सडकको अत्यन्तै नाजुक अवस्थाका कारण स्थानीय बासिन्दा तथा व्यवसायीहरू ठूलो समस्यामा परेका छन्। मझगावा देखि सेमरा सम्मको सडकखण्ड अहिले धुलो र खाल्डाखुल्डीले भरिएको छ। वर्षौंदेखि मर्मतसम्भार नपाएको यो बाटो अहिले अत्यधिक धुलो उड्ने र सवारी साधन अव्यवस्थित रुपमा पार्किङ गरिने स्थल बनेको छ, जसका कारण स्थानीयहरूको दैनिकी कष्टकर बनेको छ। विशेषगरी सडक किनारमा रहेका पसलहरूमा धुलो पस्ने, ग्राहकहरूको आउजाउ घट्ने र व्यापारमा गिरावट आउने जस्ता समस्या देखिएका छन्। यस क्षेत्रका स्थानीय व्यवसायी मोहम्मद आरिफ खान भन्छन्, “हामीकहाँ तीन तहको सरकार छ, तर अहिलेसम्म कसैले पनि हाम्रो समस्यातिर गम्भीर ध्यान दिएको छैन।”
Advertisement 2
आरिफ खानजस्ता अन्य थुप्रै व्यवसायीहरूको गुनासो पनि उस्तै छ। उनीहरू भन्छन्, सरोकारवाला निकायले समयमै ध्यान नदिने हो भने अवस्था झन भयावह बन्नेछ। सवारी साधनले सडकभरि धुलो उडाउँदा आसपासका बालबालिका, वृद्धवृद्धा र बिरामीहरूलाई स्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको छ। यति गम्भीर समस्या हुँदा पनि सम्बन्धित सरकारी निकाय मौन छ। सडक मर्मत तथा पार्किङको व्यवस्था नगरिँदासम्म जनताको पीडा यथावत् रहनेछ।
Advertisement 3
स्थानीयहरू अब संगठितरूपमा आवाज उठाउने तयारीमा छन्। उनीहरू जनप्रतिनिधिहरूसँग पटकपटक गुनासो राखे पनि समाधान नभएको गुनासो गर्छन्। यसले सरकारप्रतिको जनविश्वासमा समेत गिरावट आएको छ। अतः सम्बन्धित निकायले यथाशीघ्र समस्या समाधानको पहल गर्नुपर्ने स्थानीयको माग छ। सड़क सुधार र पार्किङ व्यवस्थापन गरी नागरिकको दैनिकी सहज बनाउन कदम चालिनु अहिलेको आवश्यकता हो।



प्रतिक्रिया दिनुहोस्