२०८२ फाल्गुन १९
नेपाली समय

हुलाकीदेखि पूर्व–पश्चिम राजमार्गसम्म बम त्रास, कपिलवस्तु तनावमा

२०८२ फाल्गुन ५, मंगलवार १२:०३

कपिलवस्तुमा एकैदिन तीन स्थानमा शंकास्पद वस्तु, निर्वाचनअघि सुरक्षा सतर्कता कडा
कपिलवस्तु जिल्लामा मंगलबार एकैपटक तीन फरक स्थानमा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा अवस्था थप सतर्क बनाइएको छ। आगामी निर्वाचन नजिकिँदै गर्दा यस्ता घटनाले स्थानीय तहमा चासो र चिन्ता दुवै बढाएको छ।
सुरक्षा स्रोतका अनुसार, कपिलवस्तु जिल्ला अन्तर्गत हुलाकी राजमार्गको बर्गदि पुल नजिकै सानो टिनको बट्टा फेला परेको छ। त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ड्राईनाला क्षेत्र नजिकै हुक्स बम फेला परेको र उक्त बम पुष्टिसमेत भइसकेको सुरक्षा निकायले जनाएको छ। साथै बनकसबासा नजिकै तारले बेरिएको पहेंलो रंगको शंकास्पद वस्तु पनि भेटिएको छ।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको छ। शंकास्पद वस्तुहरू निष्क्रिय पार्ने प्रक्रिया अगाडि बढाइएको र आसपासको क्षेत्रमा सुरक्षा घेरा कडा पारिएको बताइएको छ।
आगामी निर्वाचनलाई लक्षित गरी अस्थिरता सिर्जना गर्ने प्रयास हुनसक्ने आशंकामा सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा रहेको जनाएको छ। यद्यपि आधिकारिक रूपमा कुनै समूहले जिम्मेवारी लिएको छैन।
स्थानीयवासी र मतदाताले भने निर्वाचनको मुखमा यस्ता घटनाले त्रासको वातावरण बनाएको बताएका छन्। प्रशासनले अफवाहमा नलाग्न र शंकास्पद गतिविधि देखिए तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार