कपिलवस्तु — पूर्व मायादेवी गाउँपालिका अध्यक्ष बजरङ्गी प्रसाद चौधरीले नेकपा एमालेसँग सम्बन्धित सम्पूर्ण पद तथा जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले देशको वर्तमान राजनीतिक अवस्था, परिवर्तित परिस्थिती र युवापुस्ताले उठाएको परिवर्तनको आवाजलाई आत्मसात गर्दै यस्तो निर्णय लिएको उल्लेख गरेका छन्।
चौधरीले आफू जिल्ला सचिवालय सदस्य, कपिलवस्तु क्षेत्र नं. १ का निर्वाचन सह–संयोजक तथा २०८२ महाधिवेशन प्रतिनिधि रहेको उल्लेख गर्दै ती सबै पदबाट अलग भएको स्पष्ट पारेका छन्।
उनको राजीनामालाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ। मायादेवी गाउँपालिका क्षेत्रमा यस निर्णयले नयाँ राजनीतिक समीकरण बन्ने संकेत गरेको चर्चा सुरु भएको छ।
अब चासोको विषय बनेको छ—चौधरीको आगामी राजनीतिक यात्रा कता मोडिन्छ? उनी स्वतन्त्र धारमा अघि बढ्ने कि नयाँ राजनीतिक विकल्प रोज्ने? यसबारे औपचारिक धारणा आउन बाँकी छ।
Skip This
पूर्व मायादेवी गाउँपालिका अध्यक्ष बजरङ्गी चौधरीद्वारा नेकपा एमालेका सबै जिम्मेवारीबाट राजीनामा


प्रतिक्रिया दिनुहोस्