
Advertisement 1
मर्चवार।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कन्हैया बनियाले मर्चवार क्षेत्रमा परिवर्तनको पक्षमा मतदाताको उल्लेखनीय उत्साह देखिएको बताएका छन्।
रास्वपाका उम्मेदवार बनियाले चुनाव लक्षित घरदैलो अभियानका क्रममा मतदातासँगको भेटघाटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थानीय नागरिकहरूमा सुशासन, पारदर्शिता र द्रुत विकासप्रतिको गहिरो चाहना देखिएको उल्लेख गर्नुभयो। काठमाडौंमा देखिएको ‘बालेन मोडल’ जस्तै परिणाममुखी र पारदर्शी शासन व्यवस्था मर्चवारमा पनि स्थापित गर्न मतदाता आतुर रहेको उहाँले दाबी गर्नुभयो।
Advertisement 2
विशेषगरी बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरपालिकामा देखाउनुभएको कार्यशैलीले देशभर सकारात्मक सन्देश दिएको र त्यसको प्रभाव मर्चवार क्षेत्रका मतदातामा समेत परेको बनियाको भनाइ छ। उहाँका अनुसार युवा नेतृत्वप्रतिको विश्वास, इमानदार शासनप्रतिको आकर्षण र नयाँ राजनीतिक संस्कृतिप्रतिको चाहनाले यहाँका नागरिकलाई परिवर्तनतर्फ उन्मुख बनाएको छ।
परम्परागत राजनीतिक अभ्यास कमजोर बन्दै गएको दाबी गर्दै बनियाले भन्नुभयो, “अब मतदाता कुनै एजेन्ट वा प्रभावमा होइन, आफ्नो क्षेत्रको समग्र विकास र आउने पुस्ताको सुरक्षित भविष्यलाई केन्द्रमा राखेर सचेत निर्णय गर्ने अवस्थामा पुगेका छन्। क्षेत्र नं. ४ का मतदाता परिवर्तनको पक्षमा एकताबद्ध हुँदै घण्टीमा मतदान गर्न तयार छन्।”
Advertisement 3
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै युवा, किसान, ज्येष्ठ नागरिक, व्यवसायी लगायत सबै वर्गबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको उहाँले बताउनुभयो। “परिणाममुखी र निर्भीक नेतृत्वप्रतिको भरोसाले यहाँका मतदातामा नयाँ ऊर्जा थपेको छ,” बनियाले भन्नुभयो।
मर्चवार क्षेत्रमा यसपटक सुशासन, विकास र आशामूलक भविष्यका लागि ‘घण्टी’ चुनाव चिह्नमा मतदान हुने विश्वास आफूले लिएको उम्मेदवार बनियाले व्यक्त गर्नुभयो।



प्रतिक्रिया दिनुहोस्