Advertisement 1
कपिलवस्तु, सोमबार:
बगदामा भएको धार्मिक विवादले कपिलवस्तु जिल्लाको अवस्था तातेको छ। घटनाको विरोधमा गरिएको प्रदर्शन र बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेपछि स्थिति अझ संवेदनशील बनेको छ।
Advertisement 2

प्रहरीका अनुसार सदरमुकाम तौलिहवा क्षेत्रबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका अगुवा समेत परेका छन्। पक्राउ पर्नेहरूमा अन्तर्राष्ट्रिय हिन्दु परिषद नेपालका राष्ट्रिय प्रभारी मनोज शुक्ला, जिल्ला अध्यक्ष विरेन्द्र चौधरी तथा विश्व हिन्दु परिषद नेपालका जिल्ला उपाध्यक्ष सुनिल तिवारी रहेका छन्।
आइतबार विभिन्न हिन्दुवादी संगठनहरूले प्रशासनसँग भएको सर्वपक्षीय बैठकमा आफ्ना माग सम्बोधन नभएको भन्दै जिल्ला बन्दको घोषणा गरेका थिए। उनीहरूले मन्दिर तोडफोड, गोली प्रहारमा संलग्नमाथि कारबाही र घाइतेको उचित उपचारको माग राखेका थिए। सोही क्रममा बजार तथा सवारी साधन बन्द गराउन हिँडेका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
Advertisement 3
उता, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्षले पनि घटनाको विरोधमा बजार बन्दको आह्वान गरेका छन्, जसले स्थानीय जनजीवन थप प्रभावित भएको छ।
शनिबार बिहान बगदामा ईदका लागि नमाज पढ्ने क्रममा नजिकैको काली मन्दिरमा चर्को स्वरमा भजन बजाइएपछि विवाद सुरु भएको थियो। स्थिति चर्किँदै जाँदा मन्दिरमा ढुंगामुढा र तोडफोड भएको भिडियो सार्वजनिक भइसकेको छ।
मन्दिर तोडफोडको आरोपमा यसअघि नै ६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ भने प्रदर्शनमा संलग्न अन्य ४ जनामाथि पनि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको भैरहवामा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले पछिल्ला गतिविधिले साम्प्रदायिक सद्भाव खल्बल्याउन सक्ने भन्दै सबै पक्षलाई संयमित हुन अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै अनावश्यक हल्ला, बन्द तथा अशान्ति फैलाउने कार्य नगर्न चेतावनी दिएका छन्।
प्रशासनले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइएको र घाइतेहरूको उपचार भइरहेको जनाएको छ। जिल्लाको अवस्था सामान्य बनाउन सुरक्षा सतर्कता पनि बढाइएको छ



प्रतिक्रिया दिनुहोस्