२०८३ बैशाख ४
नेपाली समय

Author: dhurba satya khabar

कपिलवस्तुमा धार्मिक विवादपछि सर्वदलीय बैठक, शान्ति कायम गर्न प्रतिबद्धता

२०८२ चैत्र ८, आईतवार १४:२१

कपिलवस्तु, चैत ५ — जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बसेको समन्वय तथा सर्वदलीय बैठकले हालै देखिएको धार्मिक विवाद र तनावलाई गम्भीर रूपमा लिँदै शान्ति कायम गर्ने प्रतिबद्धता जनाएको छ।

बैठकमा महाराजगंज नगरपालिकाको बजार क्षेत्रमा भएको मन्दिर तोडफोड तथा धार्मिक सामग्रीमा क्षति पुर्‍याउने घटनाका कारण हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना भएको विषयमा छलफल गरिएको थियो। उक्त घटनापछि क्षेत्रमा प्रदर्शन तथा असामान्य गतिविधि देखिएको भन्दै आगामी दिनमा यस्ता कुनै पनि हिंसात्मक तथा उच्छृंखल गतिविधि हुन नदिने निर्णय गरिएको छ।

घटनामा संलग्न केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरिसकेको र अन्यको खोजी तथा अनुसन्धान जारी रहेको जनाइएको छ। साथै दोषीलाई कानुन अनुसार कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक सहयोग गर्न स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

त्यसैगरी, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक सूचना फैलाउने, घृणात्मक अभिव्यक्ति दिने तथा समुदायबीच द्वन्द्व बढाउने गतिविधि नगर्न सबैलाई अपिल गरिएको छ। यस्ता कार्य गरेमा कडा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

महाराजगंज नगरपालिकालाई स्थानीयस्तरमा शान्ति, मेलमिलाप र सचेतना कार्यक्रम सञ्चालन गर्न, जोखिम क्षेत्र पहिचान गर्न तथा प्रभावितलाई आवश्यक सहयोग गर्न निर्देशन दिइएको छ। साथै बजार, शैक्षिक संस्था र सार्वजनिक सेवाहरू नियमित रूपमा सञ्चालन गर्न समन्वय गर्ने निर्णय पनि गरिएको छ।

हाल बजार क्षेत्रका केही स्थानमा समुदायका व्यक्तिहरू भेला भइरहेका भए पनि आ-आफ्नो ठाउँमा फर्किएर सामान्य अवस्था कायम गर्न सबै पक्ष सहमत भएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार