२०८३ श्रावण १३
नेपाली समय

एम्बुलेन्स सेवामा नयाँ उदाहरण, जनसेवामा अध्यक्ष कमलेश शरण चौधरीको अर्को प्रतिबद्धता

२०८३ श्रावण १३, बुधबार २२:४१

कपिलवस्तु। शुद्धोधन गाउँपालिकाले एम्बुलेन्स सेवालाई थप प्रभावकारी, सहज र जनमुखी बनाउने उद्देश्यका साथ गाउँपालिकाअन्तर्गत सञ्चालित सबै एम्बुलेन्सका लागि आवश्यक डिजेलको व्यवस्था गाउँपालिकाले नै गर्ने निर्णय लागू गरेको छ। यससँगै बिरामी बोक्ने क्रममा एम्बुलेन्स चालक वा अन्य कुनै व्यक्तिले बिरामीका आफन्तसँग डिजेल वा एम्बुलेन्स भाडाका नाममा रकम माग्न वा लिन नपाइने स्पष्ट निर्देशन जारी गरिएको छ।
यस निर्णयलाई गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी नेतृत्वको जनमुखी सोच र सेवामुखी कार्यशैलीको अर्को महत्वपूर्ण कदमका रूपमा स्थानीयले हेर्न थालेका छन्। अध्यक्ष कमलेश शरण चौधरी ले जनताको स्वास्थ्य सेवालाई कुनै पनि आर्थिक अभावका कारण प्रभावित हुन नदिने प्रतिबद्धतासहित यो व्यवस्था लागू गरिएको बताएका छन्।
अध्यक्ष कमलेश शरण चौधरी को जनसेवाप्रतिको समर्पण भने आजबाट मात्र सुरु भएको होइन। उहाँ कुनै सार्वजनिक पदमा नहुँदा पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आउनुभएको स्थानीयहरू बताउँछन्। विशेष गरी कोरोना महामारीको कठिन समयमा आफ्नै व्यक्तिगत स्रोतसाधन र खर्चमा अक्सिजन सिलिन्डर व्यवस्थापन गरी आवश्यक परेका बिरामीसम्म निःस्वार्थ रूपमा पुर्‍याउने काममा उहाँ अग्रपङ्क्तिमा देखिनुभएको थियो। कतिपय अवस्थामा आफ्नै सवारीसाधन प्रयोग गरेर बिरामीलाई अस्पताल पुर्‍याउने र आवश्यक सहयोग जुटाउने कार्यले उहाँलाई जनतामाझ विश्वासिलो सामाजिक अभियन्ताका रूपमा स्थापित गरेको थियो।
त्यही सेवाभाव अहिले गाउँपालिका नेतृत्वमा पुगेपछि पनि निरन्तर देखिएको स्थानीयको भनाइ छ। अध्यक्ष कमलेश शरण चौधरी को पहलमा एम्बुलेन्स सेवामा डिजेलको सम्पूर्ण व्यवस्था गाउँपालिकाले गर्ने भएपछि आर्थिक समस्याका कारण उपचारमा ढिलाइ हुने अवस्था धेरै हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले सार्वजनिक सूचनामार्फत एम्बुलेन्स सेवाका क्रममा कुनै पनि चालक वा सम्बन्धित व्यक्तिले बिरामीसँग रकम मागेमा वा असुली गरेको पाइए तत्काल गाउँपालिका वा सम्बन्धित निकायमा जानकारी गराउन समेत अनुरोध गरेको छ। यसले सेवामा पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।
स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो भन्ने मान्यतालाई व्यवहारमै उतार्ने प्रयासस्वरूप अध्यक्ष कमलेश शरण चौधरी ले अघि सारेको यो निर्णयले शुद्धोधन गाउँपालिकालाई जनउत्तरदायी स्थानीय सरकारको उदाहरणका रूपमा स्थापित गर्न थप बल पुगेको स्थानीयवासीको धारणा छ। जनताको दुःख, पीडा र आवश्यकतालाई नजिकबाट बुझेका अध्यक्ष कमलेश शरण चौधरी को यो पहललाई धेरैले मानवीय संवेदनासँग जोडिएको निर्णयका रूपमा स्वागत गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125