Advertisement 1
बुटवल । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ तथा लुम्बिनी प्रदेशकी पूर्व अर्थ राज्यमन्त्री शुष्मा यादवले पार्टीको पद, जिम्मेवारी तथा साधारण सदस्यतासमेतबाट राजीनामा दिएकी छन्।
यादवले नेपाली कम्युनिस्ट पार्टी, प्रदेश समिति लुम्बिनी प्रदेशका अध्यक्षलाई सम्बोधन गर्दै २०८३ भदौ १५ गते सोमबार राजीनामा पत्र बुझाएकी हुन्।
Advertisement 2
पार्टीमा लामो समयदेखि आबद्ध रहँदै आएकी यादवले पार्टीको नीति, विचार, सिद्धान्त र संगठन निर्माणमा आफ्नो क्षमता, समय र श्रमअनुसार इमानदारीपूर्वक योगदान गर्दै आएको पत्रमा उल्लेख गरेकी छन्।
राजनीतिक यात्राका क्रममा उनले पार्टीको प्रदेश समिति सदस्य तथा मायादेवी गाउँपालिकाको इन्चार्जको जिम्मेवारी निर्वाह गरेकी थिइन्। त्यसैगरी, लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा जनताको प्रतिनिधित्व गर्ने अवसर पाएको र प्रदेशको पूर्व अर्थ राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेको उनले उल्लेख गरेकी छन्।
Advertisement 3
प्रदेश सरकारमा रहँदा विकास, सुशासन, आर्थिक अनुशासन तथा जनताको हितमा आफ्नो भूमिका निर्वाह गर्ने प्रयास गरेको यादवको भनाइ छ। उनले आफूले सम्हालेका जिम्मेवारीलाई केवल पदका रूपमा नभई पार्टी र जनताले दिएको विश्वास, जिम्मेवारी र सेवाको अवसरका रूपमा लिएको स्पष्ट पारेकी छन्।
राजनीतिक जीवनमा पद आउने–जाने भए पनि विचार, निष्ठा, आत्मसम्मान र जनताप्रतिको उत्तरदायित्व सधैं जीवित रहनुपर्ने आफ्नो मान्यता रहेको यादवले बताएकी छन्।
समीक्षापछि आफूले लिएको निर्णयलाई स्वाभिमानी र सचेत निर्णयका रूपमा बुझिदिन आग्रह गर्दै उनले नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको आगामी राजनीतिक यात्रा जनमुखी, लोकतान्त्रिक, पारदर्शी, न्यायपूर्ण र जनउत्तरदायी बन्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गरेकी छन्।
शुष्मा यादवले वि.सं. २०७४ सालदेखि नेपाली कम्युनिस्ट पार्टीमा निरन्तर आबद्ध रहँदै आएको उल्लेख गरेकी छन्। पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यतासमेतबाट उनको राजीनामासँगै लामो राजनीतिक यात्राको एउटा अध्याय औपचारिक रूपमा टुंगिएको छ।



प्रतिक्रिया दिनुहोस्
Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258