काठमाडौंमा बसोबास गरे पनि मेरो मन सधैं आफ्नै जन्मभूमिसँग जोडिएको छ। आफ्नो नगरपालिका र क्षेत्रको विकास, जनताको सहजता तथा गुणस्तरीय सेवा घरदैलोमै कसरी पुर्याउन सकिन्छ भन्ने सोचका साथ म निरन्तर सक्रिय रहँदै आएको छु। आफ्नो गाउँ तथा क्षेत्रबाट काठमाडौं आउने दाजुभाइ–दिदीबहिनीहरूलाई आवश्यक पर्दा साथ, सहयोग र समन्वय गर्दै आएको छु।
Advertisement 1
समाजसेवाको क्रममा मैले पहल गरेर हाम्रो क्षेत्रका धेरै युवालाई विदेशबाट सकुशल उद्धार गरी नेपाल फर्काउने काममा सहयोग गरेको छु। क्यान्सर पीडितहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाउनुका साथै मुटुरोगीहरूलाई गंगालाल अस्पतालमा सहज रूपमा उपचार तथा शल्यक्रिया गराउन सहयोग गरेको छु। विदेश जाने युवाहरूको मेडिकल, पासपोर्ट लगायतका प्रशासनिक प्रक्रियामा पनि निरन्तर सहजीकरण गर्दै आएको छु। साथै, सर्वोच्च अदालतदेखि विभिन्न सरकारी निकायमा पर्ने आवश्यक काममा जनताको पक्षमा समन्वय र सहयोग गर्दै आएको छु।
व्यावसायिक जीवनमा विभिन्न विदेशी कम्पनीहरूमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्य गर्दै चर्चित अन्तर्राष्ट्रिय संस्थामा करिब ६ वर्ष प्रोजेक्ट म्यानेजरको जिम्मेवारी सम्हालेको अनुभव छ। यस अवधिमा विभिन्न देशका ठूला–ठूला परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको अनुभव लिएर सन् २०१८ मा आफ्नै सफ्टवेयर कम्पनी काठमाडौंमा स्थापना गरी सरकारी तथा गैरसरकारी संस्थाहरूलाई सूचना प्रविधिसम्बन्धी सेवा प्रदान गर्दै आएको छु।
Advertisement 2
मेरो विशेषज्ञता साइबर सुरक्षा (Cyber Security), मोबाइल तथा वेब एप्लिकेसन विकास, आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रशिक्षण तथा सूचना प्रविधि क्षेत्रमा केन्द्रित छ। कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई लेक्चररका रूपमा अध्यापन गराएको अनुभव समेत रहेको छ।
कृषि क्षेत्रको विकासका लागि यूएसएआईडी अन्तर्गतको किसान परियोजना यस क्षेत्रमा ल्याई विभिन्न कृषि समूहलाई तालिम, सोलार टनेल, स्प्रे मेसिन तथा अन्य कृषि उपकरण वितरण गर्ने कार्यमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको छु।
Advertisement 3
राजनीतिक रूपमा नेकपा (एमाले) सँग आबद्ध रही राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य तथा नेकपा एमाले विशेष प्रदेशको आईटी विभाग प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आएको छु। बाल्यकालदेखि नै समाजसेवा र राजनीतिप्रति रुचि राख्दै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छु।
शैक्षिक यात्राअन्तर्गत २०६० सालमा श्रीराम गोरखा माध्यमिक विद्यालय, बहादुरगञ्जबाट एसएलसी उत्तीर्ण गरेको, सन् २००४ मा भारतको बैंगलोरबाट प्लस टु तथा सन् २०१० मा अन्ना विश्वविद्यालय, चेन्नईबाट कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ अध्ययन पूरा गरेको छु। त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट २०७७/७८ मा स्नातकोत्तर (मास्टर्स) डिग्री हासिल गरेको छु।
मेरो परिवार पनि लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएको छ। बुवा शिवप्रसाद कलवारले पञ्चायतकालदेखि नै समाजसेवामा योगदान दिँदै २०४२ सालदेखि दुई कार्यकाल बहादुरगञ्ज गाविसको उपप्रधान तथा २०५४ देखि २०५९ सम्म निर्वाचित प्रधानका रूपमा सेवा गर्नुभएको थियो। उहाँकै कार्यकालमा शिवराज अस्पतालको भवन निर्माण, पल्टामाई मन्दिरको मूल मन्दिर तथा गुम्बज निर्माण, बहादुरगञ्ज–माडा–सुखरामपुर–बवनपुर सडक विस्तार, नेपाल टेलिकमको टावर स्थापना लगायतका महत्वपूर्ण पूर्वाधार निर्माण भएका थिए।
परिवारले कोभिड–१९ महामारीका बेला अस्पताललाई औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुका साथै विपद्का बेला राहत वितरण, गरिब तथा पहुँचविहीन नागरिकलाई प्रशासनिक तथा कानुनी सेवामा सहयोग गर्दै आएको छ। किसान आन्दोलन लगायत विभिन्न सामाजिक आन्दोलनहरूमा समेत परिवारको सक्रिय भूमिका रहँदै आएको छ।
यस क्षेत्रको गौरवको रूपमा रहेको शिवराज अस्पताल विगत केही वर्षदेखि व्यवस्थापन र सेवा प्रवाहका कारण चुनौतीमा परेको थियो। पछिल्लो समय चिकित्सकहरूको सक्रियतासँगै सेवा केही सहज बन्दै गएको अनुभूति गरिएको छ। अब मेरो स्पष्ट सङ्कल्प भनेको यस अस्पताललाई हालको १५ शैयाबाट विस्तार गरी आधुनिक सुविधा सम्पन्न ५० शैयाको अस्पतालका रूपमा विकास गर्नु हो, ताकि यस क्षेत्रका हरेक नागरिकले आफ्नै ठाउँमा सहज, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्न सकून्।
यही सेवाको यात्रालाई अझ प्रभावकारी बनाउन म आफ्नो नगरको सेवा गर्ने अवसर जनतासँग मागिरहेको छु। जनताको विश्वास, साथ र समर्थन पाएमा विकास, सुशासन, शिक्षा, स्वास्थ्य, प्रविधि र रोजगारीका क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्ने मेरो दृढ प्रतिबद्धता रहेको छ। जनताको सेवा नै मेरो पहिलो प्राथमिकता हो, र यही उद्देश्यका साथ आगामी दिनमा पनि निरन्तर समर्पित भएर अघि बढ्ने विश्वास व्य क्त गर्दछु।



प्रतिक्रिया दिनुहोस्