माताको आशीर्वाद लिएर जनताको अदालतमा उत्रिए स्वतन्त्र उम्मेदवार आशिष शर्मा
कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचनका स्वतन्त्र उम्मेदवार आशिष शर्माले आज मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित समयमाईको थानमा पूजा–अर्चना गर्दै चुनावी अभियानलाई औपचारिक गति दिनुभएको छ। मातासमक्ष दीप प्रज्वलन गर्दै उहाँले समाजको भलो, जनताको कल्याण र देशको उज्यालो भविष्यको कामना गर्नुभयो।
पूजापछि प्रतिक्रिया दिँदै आशिष शर्माले माताको आशीर्वाद र जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको स्पष्ट पार्नुभयो। “सबैलाई भोट दिएर हेरिसकियो, सबैलाई सहयोग गरेर पनि हेरियो, तर जनताको जीवनमा अपेक्षित परिवर्तन आएन,” उहाँले भन्नुभयो, “यसपालि परिवर्तनको बाटो स्वतन्त्र उम्मेदवारमार्फत सम्भव छ भन्ने विश्वासका साथ म जनताको घरदैलोमा निस्किएको हुँ।”
उहाँले दलगत स्वार्थ, झुटा आश्वासन र सत्ता केन्द्रित राजनीतिबाट जनता आजित भइसकेको उल्लेख गर्दै अब जनताको कुरा सुन्ने, जनतासँगै हिँड्ने र जनताकै पक्षमा निर्णय गर्ने नेतृत्व आवश्यक भएको बताउनुभयो। “म जनताको आदेश मान्ने प्रतिनिधि बन्न चाहन्छु,” उहाँले जोड दिनुभयो।
समयमाई माताको थानबाट घर–घर अभियान सुरु गरेका शर्माले हरेक घरमा पुगेर जनताको समस्या सुन्ने, सुझाव लिने र विश्वास दिलाउने काम निरन्तर जारी रहने जानकारी दिनुभयो। स्थानीयवासीका अनुसार स्वतन्त्र, युवा र इमानदार छविका कारण आशिष शर्मा जनताको बीचमा आशा र भरोसाको केन्द्र बन्दै गइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्