२०८२ आश्विन १७
नेपाली समय

कृषक आदर्श माध्यमिक विद्यालयले प्रस्तुत गर्‍यो सामाजिक–आर्थिक लेखा परीक्षण प्रतिवेदन

२०८२ भाद्र ७, शनिबार ०७:३५

Advertisement 1

धनन्जय कुमार उपाध्याय/मर्चवार

रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नं ७ स्थित कृषक आदर्श माध्यमिक विद्यालयले आ.व. ०८१/८२ को सामाजिक तथा आर्थिक लेखा परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। विद्यालयको पारदर्शिता, जवाफदेहिता र आगामी योजनाबारे स्थानीय तहमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

Advertisement 2

कार्यक्रमको शुभारम्भ विद्यालयका सहायक प्रधानाध्यापक राजेश यादवले गरेका थिए। उनले विद्यालयका प्रत्येक गतिविधि समुदायसँग प्रत्यक्ष जोडिएकाले सामाजिक लेखा परीक्षण जस्तो कार्यक्रमले विद्यालय र स्थानीय समुदायबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे। कार्यक्रममा विद्यालयका गतिविधिसम्बन्धी सामाजिक लेखा परीक्षण प्रतिवेदन शिक्षक शारधा मिश्रले प्रस्तुत गरेका थिए । उनले विगत वर्षमा विद्यालयले सम्पन्न गरेका शैक्षिक, प्रशासनिक र पूर्वाधारसम्बन्धी कामहरूको विवरण सार्वजनिक गरेकी थिए।

त्यसैगरी, विद्यालयको आय–व्यय, आम्दानी र खर्चबारेको वित्तीय प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो। विद्यालयको दीर्घकालीन विकास दृष्टिकोण स्वरूप तयार गरिएको पाँचवर्षीय कार्ययोजना शिक्षक ज्ञवालीले प्रस्तुत गर्दै शिक्षाको गुणस्तर सुधार, पूर्वाधार निर्माण र विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी गराए।

Advertisement 3

सुझाव तथा सल्लाहका क्रममा पत्रकार महासङ्घ लुम्बिनीका सदस्य तथा राष्ट्रिय समाचार समितिका संवाददाता रामविकास चौधरीले विद्यालय व्यवस्थापनलाई आवश्यक सुझाव राख्दै शिक्षामा पारदर्शिता र गुणस्तरीय नतिजा हासिल गर्न स्थानीय सरोकारवालासँग अझै नजिक हुनुपर्ने बताएका थिए। राष्ट्रिय विपत् व्यवस्थापन सञ्जालका अध्यक्ष जगन्नाथ कुर्मीले पनि विद्यालयलाई आगामी दिनमा सामुदायिक सहभागिता अझै बढाउनुपर्ने सुझाव दिएका थिए।

उपस्थित सरोकारवालाबाट प्राप्त सुझावलाई विद्यालयले प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानाध्यापक उमाकान्त अर्यालले व्यक्त गरे। उनले विद्यालयलाई पारदर्शी, जवाफदेही र विद्यार्थीमैत्री बनाउन निरन्तर प्रयास गर्ने आश्वासन पनि दिए।

कार्यक्रममा विद्यालयका शिक्षक,शिक्षिका, विद्यार्थी, पत्रकार, समाजसेवी र अन्य जनसमुदायको उपस्थितिमा सम्पन्न भएको प्रधानाध्यापक अर्याल ले बताए ।

सम्बन्धित समाचार