कपिलवस्तु, असार ३०। कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. २ अन्तर्गत पकडी–चाकरचौडा सडकखण्डमा प्रहरीले मोटरसाइकलको सिटमुनी लुकाएर राखिएको रु. ५ लाख ४८ हजार ५ सय नगद बरामद गरेको छ। घटनामा संलग्न मोटरसाइकल चालक भने प्रहरीलाई छल्दै फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, असार ३० गते राति करिब १०:०० बजे इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी निरीक्षक (प्र.नि.) गणेश प्रसाद जैसीको कमान्डमा खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा लु ३५ प ८५७१ नम्बरको होन्डा मोटरसाइकल रोकेको थियो। प्रहरी टोली देख्नासाथ चालक मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए।
प्रहरीले शंकाका आधारमा मोटरसाइकलको सूक्ष्म खानतलासी गर्दा सिटमुनी लुकाएर राखिएको अवस्थामा नेपाली नगद रु. ५,४८,५०० (पाँच लाख अठ्चालिस हजार पाँच सय) बरामद गरेको जनाएको छ।
बरामद नगद र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय कपिलवस्तु पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
घटनामा फरार भएका चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। बरामद नगदको स्रोत, यसको उद्देश्य तथा यस घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
प्रहरीले फरार व्यक्तिको पहिचान, नगदको वास्तविक स्रोत तथा सम्भावित अवैध कारोबारसँग सम्बन्धित सबै पक्षमाथि अनुसन्धान भइरहेको जनाएको छ।
Skip This
मोटरसाइकलको सिटमुनी लुकाइएको साढे पाँच लाखभन्दा बढी नगद बरामद, चालक फरार


प्रतिक्रिया दिनुहोस्