२०८२ पुष १३
नेपाली समय

पर्साबाट उठेको साहस: सुरेश हरिजन

२०८२ मंसिर २८, शनिबार ०८:१६

Advertisement 1

 ✍️धनन्जय कुमार उपाध्याय/रुपन्देही

लुम्बिनी को २९ वर्षीय सुरेश हरिजन, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ५ पर्साका बासिन्दा हुन । पछिल्ला १४ वर्षदेखि लुम्बिनी क्षेत्रका यात्रु, भक्तजन र स्थानीय हरू लाई आफ्नो मायाले भरिएको चटपटे परिकार बेच्दै आइरहेका छन्। उनको दुई पाङ्ग्रे साईकलको पछाडि बाँधिएको रैकमा, मसला, चाउचाउ, मटर र मुस्कान—यी नै उनका १४ वर्षका संघर्षका साक्षी हुन्।

Advertisement 2

सुरेशलाई आफ्नो काम सजिलो छैन भन्ने थाहा छ। दिनभर घाम, पानी र धुलोसँग लड्नुपर्छ। हिँड्दा–हिँड्दै कहिले काहीँ खुट्टामा सुजन समेत आउँछ, कहिलेकाहीँ त यति दुख्छ कि उभिनसमेत मुस्किल हुन्छ। तर उनी भन्छन् — ““अरूको लागि काम गर्नेभन्दा आफ्नै मेहनतले आफ्नै व्यापार गर्नु राम्रो हुन्छ”। दुःख त छ तर काम छोड्ने मन कहिल्यै आउँदैन।”

दर्शक बोलाउने उनको शैली पनि आफ्नै मौलिकता बोकेको छ—

Advertisement 3

हजुरको ध्यान कता हो, लुम्बिनीको चटपटे यता हो!”

यो आवाजमा एउटा आत्मविश्वास छ, एक प्रकारको हाँसो छ, र त्यसभन्दा ठूलो कुरा—बाँच्ने जिद्दी छ।

दैनिक रूपमा उनले ३ हजारदेखि ४ हजार रुपैयाँसम्मको व्यापार गर्छन्। यही आम्दानीले उनको जीवन चलेको छ। परिवारमा उनी एक्लै छन् न आमा,न बुवा, न त विवाह नै भएको छ। एक्लोपनसँगै संघर्षको बोझ बोकेर पनि उनी हार मानेन । उनका लागि यही साइकल, यही चटपटे र चटपटे खाने दर्शक नै परिवार बनेको छन् ।

सुरेश भन्छन्, “कुनै पनि काम सजिलो हुँदैन, तर असम्भव पनि हुँदैन।” यही विश्वासले उनलाई प्रत्येक बिहान नयाँ आशासहित सडकमा उतार्छ। “सुरेश बताउँछन्, जीवनले उनलाई धेरै पटक कठिनाइ दियो कहिले स्वास्थ्य बिग्रियो, कहिले कमाइ घट्यो, तर कामप्रति उनको लगाव कहिल्यै घटेन।”

लुम्बिनी आउने धेरै पर्यटकहरूले चटपटे चाख्छन्, तर उनीहरूमध्ये थोरैले मात्र त्यस चटपटेको स्वादभित्र मिसिएको मेहनत, संघर्ष र समर्पणको स्वाद बुझ्छन्। सुरेशको चटपटे कुनै साधारण परिकार होइन यो हो निरन्तर परिश्रमको सुगन्ध, नछोडिने सपनाको स्वाद, र आफ्नो बलबुतामा उभिन खोज्ने एक युवाको जीवन कथा ।

सुरेश हरिजन लुम्बिनीको बाटोमा उभिएका एक साधारण व्यापारी मात्र होइनन्, उनी आफैंमा एउटा प्रेरणा हुन्,जहाँ संघर्ष छ, त्यहीँ सम्भावना पनि छ भन्ने जीवित उदाहरण सुरेश हरिजन हुन् ।

धेरै पढिएको

सम्बन्धित समाचार