२०८२ पुष १३
नेपाली समय

अति विपन्न परिवारका छोरा रामचन्द्र मल्लाह बने एमबिबिएस स्कलरसिप विजेता, मर्चवारको गौरव थपियो

२०८२ पुष ३, बिहीबार २०:४४

Advertisement 1

धनन्जय कुमार उपाध्याय/रुपन्देही 

कडा संघर्ष, निरन्तर मेहनत र आत्मविश्वासको बलमा सम्मरीमाई गाउँपालिका वडा नं ५ देवनडिहका २२ वर्षीय रामचन्द्र मल्लाहले एमबिबिएस स्कलरसिप (खुल्ला) तर्फ नाम निकाल्दै मर्चवार क्षेत्रलाई गौरवान्वित बनाएका छन्। सम्मरीमाई गाउँपालिका वडा नं ५ देवनडिहका २२ वर्षीय रामचन्द्र मल्लाहले एमबिबिएस अध्ययनका लागि खुल्ला स्कलरसिपमा नाम निकाल्न सफल भएका छन्। नेपाल चिकित्सा शिक्षा आयोग, सानोठिमी भक्तपुरले सार्वजनिक गरेको नतिजाअनुसार रामचन्द्रले ४४६ औँ र्‍याङ्कसहित आफ्नो नाम सूचीकृत गराउन सफल भएका हुन्।

Advertisement 2

माछापालन पेशामा संलग्न बुवाको सहारामा हुर्किएका रामचन्द्र अति विपन्न परिवारबाट आउँछन् । सीमित आम्दानी, पारिवारिक जिम्मेवारी र अभावका बाबजुद पनि उनले आफ्नो लक्ष्यबाट कहिल्यै पछि हटेनन्। घरमा अन्य सदस्यहरूको जिम्मेवारी हुँदाहुँदै पनि पढाइलाई पहिलो प्राथमिकतामा राखेर उनले संघर्षलाई निरन्तरता दिए।पछिल्लो वर्षमा एमबिबिएस प्रवेश परीक्षामा रामचन्द्र केवल १.७५ अङ्कले पछाडि रहेका थिए । त्यसबेला उनलाई बंगलादेशमा अध्ययनका लागि अफरसमेत आएको थियो। तर “आफ्नै देशमा डाक्टर बन्ने” अठोटसहित उनले त्यो अवसर अस्वीकार गर्दै अर्को वर्ष पुनः तयारी गर्ने निर्णय गरे। तीन वर्षसम्मको कडा मेहनत, निरन्तर अभ्यास र आत्मविश्वासको परिणामस्वरूप यस वर्ष २०८२ मा उनले स्कलरसिप हात पार्न सफल भए।

रामचन्द्रका बुवाका अनुसार, “छोराले तीन वर्षसम्म दिनरात मेहनत गर्‍यो, आज त्यसको फल पाएको छ। यो हाम्रो परिवारका लागि मात्र होइन, पुरै गाउँका लागि गर्वको कुरा हो।”रामचन्द्रका नजिकका व्यक्ति अङ्कित कुर्मी भन्छन्, “उहाँ सुरुदेखि नै पढाइमा अत्यन्तै होसियार, अनुशासित र जेहेनदार हुनुहुन्थ्यो। अरूको सुख–दुःखमा सधैँ तत्पर रहने स्वभावका कारण पनि उहाँ सबैका प्रिय‌ हुनुहुन्छ । अति विपन्न अवस्थाबाट उठेर एमबिबिएस स्कलरसिपसम्मको यात्रा तय गरेका रामचन्द्र मल्लाह आज मर्चवार क्षेत्रका युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। उनको सफलताले मर्चवारको शैक्षिक पहिचानलाई थप उचाइमा पुर्‍याएको छ र “मेहनत गरे सफलता अवश्य मिल्छ” भन्ने सन्देश समाजमा फैलाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार