२०८३ भाद्र ८
नेपाली समय

कालिदह नाकालाई पर्यटकीय प्रवेशद्वार बनाउने सांसद बनियाको योजना

२०८३ श्रावण ३१, आईतवार १२:२१

मर्चवार । रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले भारतसँग जोडिएको पुरानो सीमा नाका कालिदहलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउँदै देशकै प्रमुख पर्यटकीय प्रवेशद्वारका रूपमा विकास गर्ने योजना अघि बढाइएको बताउनुभएको छ ।

Advertisement 1

सांसद बनियाको नेतृत्वमा शनिबार भारतीय सीमासँग जोडिएको कालिदह क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको थियो । लुम्बिनीसँग नजिक रहेको ऐतिहासिक तथा धार्मिक महत्वको यस नाकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सरसफाइसँगै आवश्यक पूर्वाधार निर्माणको पहल अघि बढाइएको उहाँले बताउनुभयो ।

सरसफाइ कार्यक्रममा बोल्दै सांसद बनियाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश प्रवाह भएझैँ कालिदहबाट पनि स्वच्छता र वातावरण संरक्षणको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।

Advertisement 2

उहाँका अनुसार सुनौली नाकाको ढाँचामा कालिदहमा समेत चार लेनको वातावरणमैत्री सडक, व्यवस्थित ढल निकास, हरियाली प्रवद्र्धन तथा वृक्षरोपणलगायतका पूर्वाधार विकास गर्ने योजना अघि बढाइएको छ । आवश्यक प्रक्रिया पूरा गरी छिट्टै निर्माणसम्बन्धी टेन्डर प्रक्रियामा जाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

“कालिदह नाकाको स्तरोन्नति र पूर्वाधार विकासका लागि संसदमा पटक–पटक आवाज उठाएको छु । प्रधानमन्त्रीसमक्ष समेत ज्ञापनपत्र बुझाइसकेको छु,” सांसद बनियाले भन्नुभयो, “अब नाकालाई व्यवस्थित, स्वच्छ र आकर्षक बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ ।”

Advertisement 3

कालिदहलाई लुम्बिनी–सालझण्डीसँग जोड्ने गरी चार लेनको सडक निर्माण गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । सडक तथा आवश्यक पूर्वाधार निर्माण भएपछि भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि लुम्बिनी पुग्ने यात्रा सहज हुने उहाँको भनाइ छ ।

सांसद बनियाले कालिदहलाई केवल सीमा आवागमनको केन्द्रका रूपमा नभई लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो स्वागतस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

“विश्वका विभिन्न ठाउँबाट गौतम बुद्धको जन्मस्थल लुम्बिनी दर्शन गर्न आउने पर्यटकका लागि कालिदह महत्वपूर्ण प्रवेशद्वार बन्न सक्छ,” उहाँले भन्नुभयो, “त्यसैले यस नाकालाई स्वच्छ, सुन्दर, व्यवस्थित र अनुकरणीय बनाउन सबैको साझा प्रयास आवश्यक छ ।”

उहाँले स्थानीय व्यापारी, व्यवसायी तथा बासिन्दालाई समेत वातावरण संरक्षण र सौन्दर्यीकरण अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो । प्रत्येक घर तथा पसलअगाडि वृक्षरोपण गर्न र आफ्नो आसपासको क्षेत्र सफा राख्न उहाँले अनुरोध गर्नुभयो ।

कालिदह नाकामा सडक विस्तारसँगै ढल निकास, हरियाली प्रवद्र्धन, वृक्षरोपण र अन्य आधारभूत पूर्वाधार विकास गरिने बताइएको छ । लामो समयदेखि उपेक्षामा परेको कालिदहलाई पर्यटकीय तथा व्यापारिक दृष्टिले महत्वपूर्ण नाकाका रूपमा विकास गर्न सके स्थानीय आर्थिक गतिविधि विस्तार हुनुका साथै लुम्बिनी आउने पर्यटकको आवागमनसमेत बढ्ने सांसद बनियाको विश्वास छ ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125