भोटेकोशी बाढीपीडितका लागि कपिलवस्तु नगरपालिकाको ५१ लाख ११ हजार सहयोग, नगरप्रमुख पौडेलले दिए एक महिनाको तलब
Advertisement 1
राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिने
Advertisement 2
कपिलवस्तु । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कपिलवस्तु नगरपालिकाले ५१ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरप्रमुख सुदीप पौडेलको नेतृत्वमा बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाको विपद् व्यवस्थापन कोषसँगै जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको योगदानसमेत समेटेर उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
नगरपालिकाको संस्थागत सहयोगसँगै नगरप्रमुख सुदीप पौडेलले आफ्नो एक महिनाको तलबसमेत रसुवा भोटेकोशी बाढीपीडितका लागि दान गरेका छन्। विपद्को समयमा पीडित नागरिकप्रति मानवीय ऐक्यबद्धता जनाउँदै पौडेलले व्यक्तिगत रूपमा आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन्।
Advertisement 3
नगरपालिकाका अनुसार २०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले नगर कार्यपालिकाको २०८३ भदौ १७ गते बसेको बैठकले ५१ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति नगरप्रमुख पौडेलले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। साथै, बाढीमा परी घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
नगरप्रमुख पौडेलले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको मानवीय दायित्व भएको बताएका छन्। राज्यका विभिन्न तह, जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा आम नागरिकबीचको सहकार्यबाट विपद्मा परेका नागरिकलाई राहत तथा पुनःस्थापनामा प्रभावकारी सहयोग पुर्याउन सकिने उनको भनाइ छ।
पौडेलले विपद्को यस कठिन घडीमा सबै नागरिकलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग र सहकार्य गर्न अपिलसमेत गरेका छन्। उनले बाढीपीडितको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग र समन्वय गर्न कपिलवस्तु नगरपालिका प्रतिबद्ध रहेको बताएका छन्।
नगरपालिकाको निर्णयअनुसार ५१ लाख ११ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। उक्त सहयोगमा नगरपालिकाको विपद् व्यवस्थापन कोषका साथै जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको योगदान समेटिएको नगरपालिकाले जनाएको छ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका क्षेत्रमा समेत ठूलो प्रभाव परेको छ। प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा दीर्घकालीन पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोगको आवश्यकता रहेको छ।
- कपिलवस्तु नगरपालिकाको ५१ लाख ११ हजार रुपैयाँ सहयोगसँगै नगरप्रमुख सुदीप पौडेलले आफ्नो एक महिनाको तलबसमेत बाढीपीडितका लागि समर्पित गर्नुले विपद्को समयमा स्थानीय सरकार र जनप्रतिनिधिको मानवीय जिम्मेवारीलाई थप उजागर गरेको छ।
नगरपालिकाले प्राकृतिक विपत्तिको यस कठिन घडीमा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्य गर्न नगरवासीलाई समेत हार्दिक अपिल गरेको छ।



प्रतिक्रिया दिनुहोस्
Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258