२०८३ भाद्र २५
नेपाली समय

भोटेकोशी बाढीपीडितका लागि कपिलवस्तु नगरपालिकाको ५१ लाख ११ हजार सहयोग, नगरप्रमुख पौडेलले दिए एक महिनाको तलब

२०८३ भाद्र १७, बुधबार १२:३४

राहत, उद्धार तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिने, जनप्रतिनिधि, कर्मचारी र शिक्षकको योगदानसमेत समेटियो

Advertisement 1

कपिलवस्तु । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन कपिलवस्तु नगरपालिकाले ५१ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नगरप्रमुख सुदीप पौडेलको नेतृत्वमा बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाको विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको योगदानसमेत समेटेर उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

Advertisement 2

नगरप्रमुख पौडेलले ध्रुव मिडियालाई जानकारी दिँदै बाढीपीडित नागरिकको राहत र पुनःस्थापनाका लागि नगरपालिकाले आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरेको बताएका हुन्। उनका अनुसार विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु स्थानीय सरकारको जिम्मेवारीसँगै मानवीय दायित्व पनि हो।

यस सहयोगमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध हुने रकमसँगै जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको योगदानसमेत समेटिएको छ। नगरप्रमुख पौडेलले आफ्नो एक महिनाको तलबसमेत बाढीपीडितको राहतका लागि सहयोग गर्ने भएका छन्।

Advertisement 3

नगरपालिकाले जारी गरेको विवरणअनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित नागरिकको अवस्था तथा भएको क्षतिप्रति कपिलवस्तु नगरपालिकाले दुःख व्यक्त गर्दै राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति नगरप्रमुख पौडेलले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै बाढीमा परी घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

पौडेलका अनुसार प्राकृतिक विपत्तिको समयमा पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सबैको साझा दायित्व हो। स्थानीय तहले आफ्नो स्रोत र क्षमताअनुसार विपद्का बेला सहयोग गर्नुपर्ने भन्दै उनले अन्य क्षेत्रबाट पनि आवश्यक सहयोग र सहकार्यका लागि आग्रह गरेका छन्।

“विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु हाम्रो मानवीय दायित्व हो। स्थानीय तहको हैसियतले हामीले सक्ने सहयोग गर्नुपर्छ,” पौडेलले ध्रुव मिडियालाई जानकारी दिँदै भनेका छन्।

उनले राहत तथा उद्धारका काममा सहयोग पुर्‍याउन नगरवासी तथा सम्बन्धित सबै पक्षलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न अपिलसमेत गरेका छन्। नगरपालिका राहत, उद्धार तथा पुनर्निर्माणका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्ध रहेको उनको भनाइ छ।

नगरपालिकाको निर्णयअनुसार २०८३ भदौ १७ गते बसेको नगर कार्यपालिकाको बैठकबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा कपिलवस्तु नगरपालिकाको यो निर्णयले स्थानीय तहबाट राष्ट्रिय विपद्का पीडितप्रति सहयोग र ऐक्यबद्धता जनाउने प्रयासका रूपमा अर्थ राखेको छ।

नगरपालिकाले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग जुटाउन र मानवीय सहकार्यलाई निरन्तरता दिन सबैमा अपिल गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार


Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125