आदित पांडेय कपिलवस्तु
Advertisement 1
कपिलवस्तु–१ मा आगामी निर्वाचन नजिकिँदै जाँदा स्वतन्त्र उम्मेदवारप्रति मतदाताको चासो उल्लेखनीय रूपमा बढ्दै गएको छ। परम्परागत राजनीतिक दलहरूभन्दा फरक विकल्प खोजिरहेका मतदाताबीच अहिले स्वतन्त्र उम्मेदवार आशीष शर्मा केन्द्रमा देखिएका छन्।
‘जीप’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका शर्मा अहिले गाउँ–बस्ती र चोक–चौराहामा सक्रिय संवादमा छन्। स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनी आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरिरहेका छन्।
Advertisement 2
व्यवसाय व्यवस्थापन र बैंकिङ क्षेत्रको अनुभव बोकेका शर्माले आर्थिक सुदृढीकरणलाई मुख्य एजेन्डा बनाएका छन्। कृषि उत्पादनको उचित मूल्य, स्थानीय स्तरमै भण्डारण र बजार व्यवस्थापन, सीप विकास तालिम, तथा युवालाई रोजगारी र श्रमसँग प्रत्यक्ष जोड्ने योजना उनको प्राथमिकतामा परेको छ।
विशेषगरी कृषक समस्यालाई नजिकबाट बुझेको दाबी गर्दै उनले उत्पादनदेखि बजारसम्मको चक्र सुधार नगरेसम्म किसानको अवस्था नबदलिने स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनका समर्थकहरू भन्छन्, “यो पटक नाराभन्दा कामको खाका चाहिन्छ, र शर्मा त्यो खाका लिएर आएका छन्।”
Advertisement 3
कपिलवस्तु–१ मा अहिले बहस दलभन्दा पनि एजेन्डामाथि केन्द्रित हुँदै गएको देखिन्छ। स्वतन्त्र उम्मेदवारहरूले साँच्चै विकल्प दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्नबीच मतदाता भने उम्मेदवारको पृष्ठभूमि, दृष्टिकोण र कार्ययोजनालाई गम्भीरतापूर्वक हेर्दै छन्।
निर्वाचनको माहोल तातेको छ। तर अन्तिम निर्णय मतदाताको हातमा छ। अब हेर्न बाँकी छ, कपिलवस्तु–१ ले परम्परागत बाटो रोज्छ कि ‘जीप’ चढेर नयाँ यात्रा सुरु गर्छ।



प्रतिक्रिया दिनुहोस्