२०८३ असार ४
नेपाली समय

जनताको सेवामा निरन्तर समर्पित छु, भ्रम फैलाउनेहरूलाई तथ्यसहित जवाफ दिन तयार छु : अध्यक्ष कमलेश शरण चौधरी

२०८३ असार ३, बुधबार २२:५८

शुद्धोधन गाउँपालिका।

Advertisement 1

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आफू पदमा नभएको समयमा समेत जनताको सेवामा निरन्तर लागिपरेको स्मरण गराउँदै अहिले जनताकै मतबाट नेतृत्वमा पुगेपछि विकास र सेवामा झन् बढी प्रतिबद्ध रहेको बताएका छन्।

अध्यक्ष चौधरीले केही व्यक्तिहरूले आफूले काम नगरेको भन्दै जनताबीच भ्रम फैलाउने प्रयास गरेको आरोप लगाउँदै यस्ता गतिविधिले सत्यलाई ढाक्न नसक्ने बताए। उनका अनुसार कोरोना महामारीको कठिन समयमा कुनै पद वा अधिकारमा नरहँदा पनि उनले आफ्नो व्यक्तिगत स्रोत, साधन र आर्थिक सहयोग प्रयोग गरेर नागरिकको स्वास्थ्य र सुरक्षाका लागि दिनरात खटिएका थिए।

Advertisement 2

“जुन बेला म कुनै पदमा थिइनँ, त्यो बेला पनि आफ्नो ज्यानको जोखिम उठाएर जनताको सेवामा लागेको थिएँ। कोरोना महामारीका बेला आफ्नो गाडी, आफ्नो स्रोत र आफ्नो क्षमताले सकेसम्म नागरिकको साथमा उभिएको थिएँ। आज जनताले विश्वास गरेर नेतृत्वको जिम्मेवारी दिएको अवस्थामा म कसरी जनताको हक, अधिकार र विकासबाट पछि हट्न सक्छु ?” अध्यक्ष चौधरीले प्रश्न गरे।

उनले आफूविरुद्ध लगाइएका आरोपहरूको खण्डन गर्दै विकास निर्माण, स्वास्थ्य, शिक्षा, खेलकुद तथा पूर्वाधारका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे। धेरै पूर्व आधार – सडक, स्वास्थ्य सेवा विस्तार, शैक्षिक सुधार तथा युवामुखी कार्यक्रमहरू आफ्नो नेतृत्वमा अघि बढेको उनको भनाइ छ।

Advertisement 3

विवादमा आएको सडक आयोजनाबारे स्पष्ट पार्दै उनले उक्त योजना पाँच करोड रुपैयाँको भए पनि आवश्यक बजेट व्यवस्थापन भइसकेको र सम्बन्धित निर्माण कम्पनीलाई पटक–पटक काम अघि बढाउन निर्देशन दिइएको बताए। “ठेकेदारले काम नगरेको विषयमा म जिम्मेवारीबाट भागेको छैन। सम्बन्धित निकायलाई पटक–पटक पत्राचार गरेको छु। आफ्नो दायित्व पूरा गरेको छु,” उनले स्पष्ट पारे।

अध्यक्ष चौधरीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको, घुस नखाएको तथा जनतासँग दुर्व्यवहार नगरेको दाबी गर्दै आलोचकहरूलाई खुलेर तथ्यसहित प्रश्न गर्न आग्रह गरे।

“मलाई सामाजिक सञ्जाल वा पर्दापछाडि आरोप लगाउनुभन्दा अगाडि आएर प्रश्न गर्नुस्। यदि मसँग जवाफ छैन भने त्यसपछि आलोचना गर्नुस्। तर तथ्यबिना भ्रम फैलाएर जनताको मनमा अन्योल सिर्जना गर्नु उचित होइन,” उनले भने।

उनले जनतालाई आफ्नो शक्ति र प्रेरणाको स्रोत बताउँदै आगामी दिनमा पनि विकास, सुशासन र जनसेवामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे। “जनता नै मेरो भगवान हुनुहुन्छ। जनताको विश्वास र साथ मेरो सबैभन्दा ठूलो शक्ति हो। म जनताको सेवा गर्न जन्मिएको मान्छे हुँ र अन्तिम दिनसम्म यही बाटोमा हिँडिरहनेछु,” अध्यक्ष चौधरीले भावुक हुँदै बताए।

स्थानीयवासीका अनुसार अध्यक्ष चौधरी कोरोना महामारीका बेला सक्रिय रूपमा राहत, स्वास्थ्य सामग्री व्यवस्थापन तथा आपतकालीन सहयोगमा खटिएका जनप्रतिनिधिमध्ये एक थिए। अहिले पनि गाउँपालिकामा सडक, शिक्षा, स्वास्थ्य र युवा विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम भइरहेको बताइन्छ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125