
धनन्जय कुमार उपाध्याय /रुपन्देही
रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दुईमोहान संगम घाटमा स्थानीय युवाहरूको पहलमा श्रीराम घाट संगम चौक निर्माण गरिएको छ। सोही क्रममा भगहिया स्थित तीनकुने चोकमा श्रीरामजीको झन्डा पनि स्थापना गरिएको छ।
धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको यस कार्यको अगुवाइ युवा समाजसेवी चन्दन तिवारीले गरेका हुन्। कार्यक्रमलाई सम्पूर्ण सनातनी युवाहरूले एकताबद्ध भएर सम्पन्न गरेका थिए, जसलाई स्थानीय बासिन्दाले अत्यन्तै सराहना गरेका छन्।
कार्यक्रमको पूजन तथा धार्मिक विधि मर्चवारी माता मन्दिरका मुख्य पुजारी श्री सम्भु सरण उपाध्याय र ब्रिजमोहन मिश्रले संयुक्त रूपमा गराएका थिए। विधिपूर्वक गरिएको पूजनपछि श्रीरामजीको झन्डा तीनकुने चोकमा गाडिएको थियो।
कार्यक्रममा विशेष उपस्थितिका रूपमा अनिल तिवारी रहेका थिए। उनले सनातन धर्मप्रति गहिरो चासो र श्रद्धा राख्दै युवाहरूको यस्ता सामाजिक तथा धार्मिक गतिविधिले सम्पूर्ण समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
स्थानीयवासीहरूका अनुसार संगम घाट क्षेत्रमा चौक निर्माण र झन्डा स्थापना भएपछि यो स्थान धार्मिक पर्यटन र सामाजिक भेटघाटको महत्वपूर्ण केन्द्र बन्दै जाने अपेक्षा गरिएको छ। यसले धार्मिक आस्था मात्र नभई सांस्कृतिक पहिचानलाई पनि मजबुत पार्ने विश्वास व्यक्त गरिएको छ।
युवाहरूले सामूहिक पहल गर्दै गरेका यस्ता कार्यले सनातनी एकता, धार्मिक चेतना र सामाजिक सद्भाव बढाउन ठूलो योगदान पुर्याउने स्थानीय बासिन्दा बताउँछन्।


प्रतिक्रिया दिनुहोस्