
रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र सम्मरीमाइ गाउँपालिकाको पूर्वाधार विकासमा एक महत्वपूर्ण कोशेढुंगा सावित हुने दुइमोहन-तरैनीहुँदै-सेमरा रिङरोड (चक्रपथ) निर्माणको कार्य अब अघि बढ्ने भएको छ।
लुम्बिनी प्रदेश सरकारले यस महत्वपूर्ण आयोजनाका लागि प्रारम्भिक चरणमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै सम्मरीमाइ गाउँपालिकाको प्राबिधिक समूहले नापजाँचको कार्य अघि बढाएको छ।
यो बजेट सम्मरीमाई गाउँपालिका वडा नं. ५, रोइनिहवामा रहेको पिच सडकदेखि मर्चवारी गाउँपालिका वडा नं. १, सेमरासम्मको खण्ड निर्माणमा खर्च गरिने गाउँपालिका अध्यक्ष बिनोद श्रीवास्तवले बताए ।

प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको यस आयोजनाको प्रारम्भिक बजेट १० करोड रुपैयाँ रहेको र आवश्यकताअनुसार थप बजेट उपलब्ध गराइने लोसपाका सह–महामंत्री संदीप कु. त्रिपाठीले बताए।

सम्मरीमाई र मर्चवारी गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरूले प्रदेश सरकारको यस कदमको स्वागत गर्दै आयोजनाको सफल कार्यान्वयनका लागि सबैले मिलेर सहयोग गर्नुपर्ने बताए। धुलो र हिलोका कारण वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीय बासिन्दाहरू अब पक्की सडक बन्ने खबरले उत्साहित भएका छन्।
“मर्चवार चक्रपथ अन्तर्गतको यो सडक सम्मरीमाइ गाउपालिकाको विकासको मेरुदण्ड हो,” स्थानीय अगुवा समाजसेवी सहाबुद्दीन मुसलमानले भने, “यो सडकले हाम्रो जीवनस्तरमा ठूलो परिवर्तन ल्याउनेछ।”


प्रतिक्रिया दिनुहोस्