कपिलवस्तु। पूर्व स्वास्थ्यमन्त्री तथा पूर्व सांसद विष्णु पन्थीले कपिलवस्तुको सीमावर्ती क्षेत्रबाट किसानले ल्याएको मल जफत गरिएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिनको माग गर्नुभएको छ।
Advertisement 1
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व स्वास्थ्यमन्त्री तथा सांसद विष्णु पन्थीले कपिलवस्तुको राष्ट्रपुर ज्वाभारीबाट तीन जना किसानले ल्याएको करिब ५.५ क्विन्टल मल र भाडामा प्रयोग गरिएको टेम्पु भन्सार कार्यालयमा बुझाइएको तथा लिलामीको तयारी भइरहेको भन्ने जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ।

उहाँले घटनाको सत्यतथ्य छानबिन गरी यदि कुनै कानुनी त्रुटि भएको भए कानुनअनुसार कारबाही गर्न, तर किसानमाथि अन्याय नहुने गरी विषयलाई हेर्न आग्रह गर्नुभएको छ। साथै, नेपालमै सहज रूपमा मल उपलब्ध गराउन नसक्ने अवस्थामा किसान बाध्य भएर सीमापारबाट मल ल्याउनुपर्ने अवस्था सिर्जना हुनु आफैंमा सरकारका लागि गम्भीर प्रश्न भएको उहाँको भनाइ छ।
Advertisement 2
पूर्व स्वास्थ्यमन्त्री तथा सांसद विष्णु पन्थीले किसानको पीडा बुझ्दै सरकारले समयमै मल उपलब्ध गराउन नसकेपछि जीविकोपार्जनका लागि संघर्ष गरिरहेका किसानलाई थप आर्थिक मार पर्ने अवस्था आउन नदिनुपर्ने धारणा राख्नुभएको छ। उहाँले यस्तो संवेदनशील विषयमा कानुन कार्यान्वयनसँगै किसानको वास्तविक अवस्थालाई पनि समान रूपमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
कृषि उत्पादनको मुख्य समयमा मल अभावको समस्या दोहोरिरहँदा किसानका आवाजलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता झन् स्पष्ट भएको देखिन्छ। अहिले सम्बन्धित निकायबाट घटनाको वास्तविकता सार्वजनिक हुने र आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्