Advertisement 1
कपिलवस्तु असार १८/ ध्रुव सत्य खबर
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरिक्षक ( इन्स्पेक्टर ) सुवास तिमिल्सिनाले एक महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन अघि बढेको छ।
Advertisement 2
पीडित महिला प्रहरीले प्रहरी निरिक्षक तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट ट्विटरमा पोष्ट गर्दै आफुलाई असुरक्षित बनाएको उल्लेख गरेकी थिइन्।
Advertisement 3
‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा स्क्रिनसट पोष्ट गर्दै उनले लेखेकी छिन्– ‘नेपाल प्रहरीको शक्तिमार्फत सुरक्षा सेवकले नै महिलामा असुरक्षा सिर्जना गरिरहेका छन्।’
उनले पोष्ट गरेको स्क्रिनसटमा तिमिल्सिनाले आफु ती महिला प्रहरीको शरीरको फ्यान भएको, फोटो पठाउन अनुरोध गरेका लगायत म्यासेज छन्।
ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानविन गर्न समिति गठन गरेको छ।
घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालको संयोजकत्वमा छानविन समिति गठन गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए।
‘तिमिल्सिनाले म्यासेज पठाएको हो कि होइन, हामी साइबर ल्याबबाटै छानबिन गर्छौं, केसीले भने, ‘छानबिनबाट दोषी देखिए कारबाही अघि बढ्छ।’
तिमिल्सिनाले म्यासेज पठाएको भनिएको इन्स्टाग्राम अकाउन्ट उनको हो कि होइन भन्ने यकिन गर्न छानबिन समितिलाई निर्देशन दिएको उनले बताए। यसका लागि प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरिएको छ।
यता, तिमिल्सिनाले भने उक्त इन्स्टाग्राम अकाउन्ट ह्याक भएको र आफुले नचलाएको बताएका छन्।
‘मैले चलाउँदै आएको इन्स्टाग्राम आइडी अन्य कसैले ह्याक गरी चलाइरहेको र उक्त आइडीबाट मेरो आफन्त, मित्रहरूलाई अश्लिल खालका म्यासेज गरी रहेको हुँदा उक्त व्यक्तिलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ,’ उनले निवेदनमा भनेका छन्।



प्रतिक्रिया दिनुहोस्