२०८२ माघ ३
नेपाली समय

सम्मरीमाईमा तथ्याङ्कीय साक्षरता कार्यक्रम सम्पन्न: विकासका लागि सही तथ्याङ्क अनिवार्य

२०८२ पुष २२, मंगलवार २०:२३

Advertisement 1

धनन्जय उपाध्याय/रुपन्देही 

तथ्याङ्कको महत्त्व र यसको सही प्रयोगबारे सरोकारवालाहरूलाई सुसूचित गर्ने उद्देश्यका साथ रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा एक दिने ‘तथ्याङ्कीय साक्षरता कार्यक्रम’ सम्पन्न भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय, प्रदेश कार्यालय रूपन्देहीको आयोजनामा सोमबार गाउँपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement 2

कार्यक्रमको उद्घाटन सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवले ब्यानर वाचन गरेर गर्नुभएको थियो । राष्ट्रिय जनगणना २०७८ को नतिजा र जिल्लाको पछिल्लो वस्तुस्थिति समेटिएको तथ्याङ्कीय विवरण सार्वजनिक गर्दै अध्यक्ष श्रीवास्तवले कुनै पनि स्थानीय तहको योजना तर्जुमा र प्रभावकारी कार्यान्वयनका लागि वस्तुपरक तथ्याङ्क मेरुदण्ड हुने बताउनुभयो ।

Advertisement 3

तथ्याङ्कले बोल्छ मर्चवारको अवस्था

कार्यक्रममा तथ्याङ्क कार्यालय रूपन्देहीका तथ्याङ्क अधिकृत नन्दलाल चौधरीले कार्यपत्र प्रस्तुत गर्दै रूपन्देही जिल्ला र विशेष गरी सम्मरीमाई गाउँपालिकाको जनसांख्यिक, सामाजिक तथा आर्थिक अवस्थाबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

प्रस्तुत तथ्याङ्क अनुसार 

जनसंख्या र साक्षरता: रूपन्देहीमा जनगणना २०७८ अनुसार कुल जनसंख्या ११,२१,९७५ पुगेको छ । साक्षरता दरमा क्रमिक सुधार देखिए पनि महिला र पुरुषबीचको खाडल कम गर्नुपर्ने चुनौती अझै बाँकी छ।

कृषि क्षेत्र: जिल्लाको ठुलो हिस्सा अझै पनि कृषिमा आधारित रहेको र सम्मरीमाई जस्ता पालिकामा व्यावसायिक कृषिको सम्भावना प्रवल रहेको तथ्याङ्कले देखाएको छ।

साक्षरता: सम्मरीमाई गाउँपालिकामा ५ वर्षमाथिको साक्षरता दर ६२.३४ प्रतिशत रहेको छ, जसमा पुरुष ७८.०१% र महिला ६०.७३% रहेका छन् ।

दुई सत्रमा सञ्चालित कार्यक्रम

उक्त साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउन दुई फरक सत्रमा सञ्चालन गरिएको थियो। पहिलो सत्रमा तथ्याङ्कको आधारभूत पक्ष र जिल्लाको अवस्थाबारे चर्चा गरिएको थियो भने दोस्रो सत्रमा राष्ट्रिय तथ्याङ्क कार्यालय रूपन्देहीका तथ्याङ्क अधिकृत मनोहर हरिजनले प्रस्तुतीकरण दिनुभएको थियो। उहाँले स्थानीय तहमा तथ्याङ्कको अभिलेखीकरण, यसको प्राविधिक पक्ष र प्रयोगका विधिहरूका बारेमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।

सरोकारवालाहरूको प्रतिबद्धता

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै तथ्याङ्क कार्यालय रूपन्देहीका प्रमुख विपिन कुमार पञ्जियारले तथ्याङ्कलाई केवल अंकको रूपमा मात्र नलिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तथ्याङ्कले समाजको ऐना देखाउँछ, यसकै आधारमा पछाडि परेका समुदाय र क्षेत्रलाई मूल प्रवाहमा ल्याउन मद्दत पुग्छ ।”

विशिष्ट अतिथिको रूपमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले पालिकाको बजेट र कार्यक्रम बनाउँदा अबदेखि यी वैज्ञानिक तथ्याङ्कहरूलाई आधार बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा तथ्याङ्क अधिकृत मनोहर हरिजन, सम्मरीमाई वडा नं. २ का अध्यक्ष अजय कुमार बनिया, वडा नं. ७ का अध्यक्ष राधेश्याम कुर्मी, कार्यपालिका सदस्य विक्रम जित लोध लगायत विभिन्न शाखाका प्रमुखहरू र स्थानीय प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले तथ्याङ्क संकलनका क्रममा फिल्डमा आउने समस्या र प्राप्त नतिजालाई स्थानीय तहको विकासमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

धेरै पढिएको

सम्बन्धित समाचार