
Advertisement 1
रामेश आचार्य/कान्तिपथ काठमाडौँ (ध्रुव सत्य खबर सञ्चारकर्मी)
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूको सहभागिता अपेक्षाकृत कमजोर देखिएको छ । निर्वाचन आयोगमा बन्दसूची बुझाउने ६४ दलमध्ये जम्मा २२ दलले मात्रै सबै ११० स्थानमा उम्मेदवारी दर्ता गराएका छन् ।आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ बन्दसूची पेस गर्ने राजनीतिक दलमध्ये सीमित दलहरूले मात्रै पूर्ण सहभागिता जनाएका छन् । निर्वाचन आयोगका अनुसार पुस १३ र १४ गते पेस गरिएका बन्दसूचीमध्ये ६४ दलले सूची बुझाए पनि २२ दलले मात्रै सबै ११० स्थानमा उम्मेदवारी दिएका हुन् ।
Advertisement 2
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ६४ दलले बन्दसूची बुझाएकामा ५८ दलले ५८ फरक निर्वाचन चिह्नमार्फत उम्मेदवारी दिएका छन् । पूर्ण ११० स्थानमा उम्मेदवारी दिने दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (माले), श्रम संस्कृति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, मितेरी पार्टी नेपाल, नेकपा (संयुक्त) लगायत रहेका छन् ।
यसैगरी नेपाली जनता दल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेकपा (माओवादी), प्रगतिशील लोकतान्त्रिक पार्टीसमेतले सबै स्थानमा बन्दसूची बुझाएका छन् । केही दलले साझा निर्वाचन चिह्न प्रयोग गरी संयुक्त रूपमा ११० स्थानमा उम्मेदवारी दिएका आयोगले जनाएको छ । आयोगका अनुसार औसत रूपमा प्रति निर्वाचन चिह्न करिब ६० उम्मेदवारी परेको छ भने न्यूनतम ११ स्थानमा मात्रै बन्दसूची बुझाउने दलको सङ्ख्या १० रहेको छ । यस्तै एकल निर्वाचन चिह्न लिएका दलहरूको सङ्ख्या पनि १० रहेको छ ।
Advertisement 3
आगामी निर्वाचनमा २०७८ सालको राष्ट्रिय जनगणनाका आधारमा समावेशी समूह—दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु र मुस्लिम—को जनसङ्ख्या प्रतिशतअनुसार दलहरूले बन्दसूची पेस गरेका हुन् । यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–१ संशोधन गरी पुस ४ गते अध्यादेश जारी गरिएको थियो । यसअघि २०६८ को जनगणनाका आधारमा समावेशी कोटा निर्धारण हुँदै आएको थियो । नयाँ जनगणनाअनुसार प्रतिशत पुनःनिर्धारण भएपछि कतिपय दलबीच अन्तिम समयसम्म सूची मिलाउने प्रयास भएकाले राति अबेरसम्म बन्दसूची बुझाउने क्रम चलेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले पुस १५ गतेदेखि बन्दसूची छानबिन सुरु गरी पुस २० गतेसम्म प्रारम्भिक परीक्षण गर्नेछ । सूचीमा त्रुटि वा अपुग देखिएमा पुस २१ देखि २७ गतेसम्म सच्याउन समय दिइनेछ । माघ ३ गतेसम्म पुनः परीक्षणपछि माघ २० गते अन्तिम बन्दसूची सार्वजनिक गरिने कार्यतालिका तय भएको छ ।
प्रत्यक्षतर्फ माघ ६ मा मनोनयन
पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) अन्तर्गत उम्मेदवारको मनोनयनपत्र माघ ६ गते दर्ता हुनेछ । सोही दिन प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने माघ ७ गते उजुरी दिने समय निर्धारण गरिएको छ । माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन, माघ ९ गते नाम फिर्ता र अन्तिम नामावलीसहित निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ ।
मतपत्र छपाइको तयारी सुरु
उम्मेदवारी प्रक्रिया सुरु भएसँगै निर्वाचन आयोगले करिब चार करोड थान मतपत्र छपाइको तयारी अघि बढाएको छ । आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त, उच्च अधिकारी तथा सम्बन्धित शाखाका कर्मचारीबीच बैठक बसेर मतपत्रको सम्भावित ढाँचा, आकार र डिजाइनबारे छलफल गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्