Advertisement 1
धनन्जय कुमार उपाध्याय/रुपन्देही
अभाव, संघर्ष र कठिनाइलाई जित्दै एमबिबिएस स्कलरसिपमा नाम निकाल्न सफल रामचन्द्र मल्लाहको उपलब्धिले मर्चवार क्षेत्रका युवाहरूमा नयाँ आशा, हौसला र आत्मविश्वास थपेको छ। अति विपन्न पारिवारिक पृष्ठभूमिबाट उठेर एमबिबिएस स्कलरसिपमा नाम निकाल्न सफल रामचन्द्र मल्लाहको सफलताले मर्चवार क्षेत्रभर उत्साह र गर्वको वातावरण सिर्जना गरेको छ। उनको यो उपलब्धिलाई स्थानीय युवा, जनप्रतिनिधि तथा समाजसेवीहरूले संघर्षबाट सम्भव भएको प्रेरणादायी उदाहरणका रूपमा मूल्याङ्कन गरेका छन्।
Advertisement 2

मर्चवार युवा जनजागरण क्लबका अध्यक्ष मो. आरिफ खाँले रामचन्द्रको सफलताले सम्पूर्ण मर्चवार क्षेत्रका युवाहरूलाई मेहनत र धैर्यको महत्व बुझाएको बताउँदै आगामी दिनमा क्लबको तर्फबाट आवश्यक सहयोग, हौसला तथा मार्गदर्शन प्रदान गरिने प्रतिबद्धता जनाएका छन्। “रामचन्द्रको सफलता एउटा व्यक्तिको मात्र होइन, पुरै मर्चवारको जित हो,” उनले भने। त्यस्तै, सम्मरीमाई गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष अदहम अलि देवानले रामचन्द्रको अध्ययन र उज्ज्वल भविष्यका लागि स्थानीय तहको तर्फबाट सक्दो सहयोग रहने आश्वासन दिएका छन्। उनले विपन्न तर प्रतिभावान विद्यार्थीलाई प्रोत्साहन गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै रामचन्द्रजस्ता युवाले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
Advertisement 3
समाजसेवी जाकिर अहमद मुसलमानले रामचन्द्रलाई सम्मान गर्दै उनको सफलतालाई “संघर्षबाट सम्भव भएको ऐतिहासिक उपलब्धि”का रूपमा वर्णन गरे। उनले अभावलाई हार होइन, प्रेरणामा बदल्न सक्ने क्षमता नै रामचन्द्रको सबैभन्दा ठूलो सफलता भएको बताए। अभाव र कठिनाइका बीच पनि लक्ष्यमा अडिग रहँदै एमबिबिएस स्कलरसिपसम्मको यात्रा तय गरेका रामचन्द्र मल्लाह आज मर्चवार क्षेत्रका युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। उनको सफलताले मर्चवारको शैक्षिक पहिचानलाई थप उचाइमा पुर्याएको छ र “मेहनत, धैर्य र आत्मविश्वास भए सफलता अवश्य मिल्छ” भन्ने सशक्त सन्देश समाजभर फैलाएको छ।




प्रतिक्रिया दिनुहोस्