कपिलवस्तुमा रहस्यमय मृत्यु: आँपको रुखमा झुण्डिएको अवस्थामा युवक र किशोरी मृत फेला, प्रेम सम्बन्ध कि केही अर्को कथा?
कपिलवस्तु, ११ चैत सुरेस कुमार पांडेय
Advertisement 1
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बरहामा एक युवक र एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेपछि क्षेत्रभर सनसनी फैलिएको छ।
स्थानीयले आज बिहान खेतमा रहेको आँपको रुखमा दुबैलाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्र नियन्त्रणमा लिँदै अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी रीपेन्द्र कुमार सिंहका अनुसार मृतकहरूको पहिचान खुल्ने क्रममा रहेको छ भने घटनाको वास्तविक कारण अझै अस्पष्ट छ। “घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको छ, पोस्टमार्टम रिपोर्टपछि मात्र यथार्थ बाहिर आउनेछ,” उनले बताए।
प्रहरीका अनुसार प्रारम्भिक जानकारीमा मृतक युवक घरबाट आमासँग सामान्य विवादपछि “प्रहरीमा उजुरी दिन्छु” भन्दै निस्किएका थिए। त्यसको करिब २–३ घण्टापछि उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी प्राप्त भएको हो।
घटनामा संलग्न भनिएकी एक युवतीबारे पनि अनुसन्धान भइरहेको छ। स्थानीय स्रोतले ती युवती भारतबाट भगाएर ल्याइएको हुनसक्ने आशंका गरे पनि प्रहरीले यसबारे आधिकारिक पुष्टि गरिसकेको छैन।
प्रहरीका अनुसार मृतकको शरीरमा हालसम्म कुनै स्पष्ट संकास्पद चिन्ह देखिएको छैन भने परिवारजनले पनि अहिलेसम्म कुनै शंका व्यक्त गरेका छैनन्।
दुवै शव पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल, तौलिहवा पठाइएको छ। हालसम्म रिपोर्ट नआएकाले घटनाको वास्तविक कारण रहस्यमै रहेको छ।
प्रहरीले अफवाह नफैलाउन र आधिकारिक सूचनामात्र विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्