२०८२ फाल्गुन १९
नेपाली समय

एजेन्डा पूरा गर्न नसके पुनः चुनाव नलड्ने आशुतोष मिश्रको प्रतिबद्धता

२०८२ फाल्गुन ११, सोमबार ०७:१७
मर्चवार। रुपन्देही क्षेत्र नं. ४ मा चुनावी माहोल तातेका बेला नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले कृषि, बजार व्यवस्थापन र किसान सुरक्षालाई प्राथमिकतामा राख्दै कार्यकालभित्रै परिणाम दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

Advertisement 1

२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नं. ४ मा चुनावी सरगर्मी तीव्र बनेको छ। उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त रहँदा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार आशुतोष मिश्रले पनि आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन्। 

घरदैलोका क्रममा जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनले स्थानीय समस्याहरू टिपोट गरिरहेको र निर्वाचित हुनेबित्तिकै कार्यान्वयन चरणमा लैजाने प्रतिबद्धता जनाए। “मैले प्रस्तुत गरेको एजेन्डा आफ्नो कार्यकाल भित्र पूरा गर्न सकिनँ भने म पुनः चुनाव लड्दिनँ,” उनले स्पष्ट शब्दमा भने। 

Advertisement 2

मिश्राले विशेषगरी मर्चवार क्षेत्रलाई ‘अन्न भण्डार’ का रूपमा विकास गर्ने लक्ष्य अघि सारे। धान, गहुँ, तोरी, तरकारी तथा फलफूल उत्पादनका लागि प्रख्यात यस क्षेत्रमा कृषि उपजको न्यूनतम समर्थन मूल्य कायम गरी किसानको लगानी सुरक्षित गरिने उनले बताए। किसानको उत्पादनले उचित मूल्य नपाउँदा भोग्नुपरेको समस्या अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताए। 

त्यस्तै, स्वदेश तथा विदेशमा समेत ब्राण्डिङ भइसकेको छपियाको माछालाई बजार विविधीकरण गर्दै व्यापक विक्री–वितरणको व्यवस्था मिलाइने उनले भने। कृषकको आय वृद्धि र कृषिलाई उद्यम सरह मान्यता दिलाउने आफ्नो प्रमुख उद्देश्य रहेको बताउँदै उनले किसान कार्ड र कृषि बीमा कार्यक्रम लागू गर्ने योजना पनि सार्वजनिक गरे। 

Advertisement 3

“कृषकको आय बढाउन र कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न म सक्रिय भूमिका खेल्नेछु,” उनले भने। 

निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं. ४ मा उम्मेदवारहरूको प्रतिबद्धता र एजेन्डाले मतदाताको ध्यान तानेको छ। अब मतदाताले कसलाई विश्वास गर्ने भन्ने निर्णय भने फागुन २१ गतेको मतपेटिकाले तय गर्नेछ।

धेरै पढिएको

सम्बन्धित समाचार