२०८२ फाल्गुन १९
नेपाली समय

११० वर्षीया वृद्ध आमाको आशीर्वाद: “युवा जिते देश जित्छ”

२०८२ फाल्गुन १२, मंगलवार १९:०९

मायादेवी गाउँपालिका वडा नम्बर १, पकडीमा अजा भावुक र प्रेरणादायी दृश्य देखियो। स्वतन्त्र उम्मेदवार आशिष शर्मा आफ्नो चुनाव चिन्ह ‘जिप’ लिएर घरदैलो अभियानका क्रममा वृद्ध आमाको घर पुग्नुभएको थियो। त्यहीँ ११० वर्षीया आमाले उहाँलाई टिका र माला लगाइदिँदै विजयी भवको आशीर्वाद दिनुभयो।
आमाले दृढ स्वरमा भन्नुभयो, “तिमी जस्तो युवा जित्यो भने देश अगाडि बढ्छ। तिमी पक्कै जित्छौ, मेरो आशीर्वाद छ।”
उमेरले शरीर थाकेको थियो, तर परिवर्तनप्रतिको आशा भने बिलकुल जवान देखिन्थ्यो।
स्थानीयवासीका अनुसार, आशिष शर्मा आफैं वृद्ध आमाको आशीर्वाद लिन पुग्नुभएको थियो। आमाले युवाले नेतृत्व सम्हाले देशले नयाँ दिशा पाउने विश्वास व्यक्त गर्दै खुलेर समर्थन जनाउनुभयो। टिका, माला र आशिषका शब्दले त्यहाँको वातावरण केही समयका लागि स्तब्ध र भावुक बनायो।
पकडीमा देखिएको यो दृश्यले एउटा स्पष्ट सन्देश दिएको छ— पुस्ता जे भए पनि देशप्रतिको माया र परिवर्तनको चाहना कहिल्यै बूढो हुँदैन। युवालाई अगाडि सार्ने आवाज गाउँघरबाटै उठिरहेको संकेत यस घटनाले दिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार